डडेल्धुरा – सुदूरपश्चिम प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत निर्माण भइरहेको दैजी–जोगबुडा–बेलापुर–ढुङ्गाड हुँदै बझाङको देउरा जोड्ने सडक योजनाको बेलापुर खण्डमा बुधबार विधिवत् शिलान्यास गरिएको छ।
बेलापुर खण्डअन्तर्गत ९ किलोमिटर सडक निर्माण कार्यको गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले शिलान्यास गरेका हुन्। उक्त सडक निर्माणको जिम्मेवारी इन्द्रधनु निर्माण सेवाले प्राप्त गरेको छ।
शिलान्यास कार्यक्रममा अध्यक्ष अवस्थीले यो आयोजना क्षेत्रीय विकासका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। उनले सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको यातायात पहुँच विस्तार हुनुका साथै आर्थिक, सामाजिक तथा पर्यटकीय गतिविधिमा समेत उल्लेखनीय टेवा पुग्ने बताए।
सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा रहेको यस गौरव आयोजनाले विशेषगरी पश्चिमी पहाडी क्षेत्रलाई सहज सडक सञ्जालसँग जोड्दै विकासको नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।
पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार आयोजनाअन्तर्गत हालसम्म २६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने थप ६ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।
आयोजना सम्पन्न भएपछि घटाल–चिर्किट्टे सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आउनेछ। यसले डडेल्धुराबाट जोगबुडा र दैजीसम्मको यात्रा दूरी र समय दुवै घटाएर स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्टले सडक निर्माणले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै निर्माण कार्य गुणस्तरीय, पारदर्शी र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरिन्।














