डडेल्धुरा -बैतडीको सुन्दरखाली खेलमैदानमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिता–२०२६ को उपाधि डडेल्धुरा यू-१९ महिला टोली ले जितेको छ। फाइनलमा कञ्चनपुर यू-१९ महिला टोली लाई ७ विकेटले पराजित गर्दै डडेल्धुराले च्याम्पियन बन्न सफल भयो।

टस हारेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले १५ ओभरमा ८ विकेट गुमाएर ७१ रन बनायो। कशिस पालले १७, दीपा बडुले १४ तथा रेश्मी सुनारले ११ रनको योगदान दिए। डडेल्धुराका रेजिना जाग्री, जयन्ती भण्डारी र कप्तान मनिषा खत्रीले समान २–२ विकेट लिए।
७२ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १० ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। जयन्ती भण्डारीले २५ रन, रविना धामीले अविजित १७ रन तथा सुनिता साउँदले १३ रन जोडिन्।
अलराउण्ड प्रदर्शन गरेकी जयन्ती भण्डारी फाइनलको प्लेयर अफ दि म्याच घोषित भइन्। प्रतियोगितामा करुणा बिष्ट सर्वाधिक १६१ रनसहित उत्कृष्ट ब्याटर बनिन् भने आशिका कुमारी महरा ८ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी रहिन्। प्रतियोगिताको उत्कृष्ट अलराउण्डरको उपाधि पनि जयन्ती भण्डारीले जितिन्।












