काठमाडौं- तीन महिनाअघि भालुको आक्रमणमा परेकी बैतडीको मेलौली नगरपालिका–४ तितावैकी सुनिता चन्द हाल काठमाडौँमा उपचाररत छिन् । उनी अहिले अस्पतालको ‘रेड जोन’ पार गर्दै सुधारतर्फ उन्मुख भए पनि उपचारमा लागेको खर्च र दैनिक जीवनयापनका कारण आर्थिक संकटमा परेकी छिन् ।
करिब एक महिनादेखि काठमाडौँको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा भर्ना भएकी सुनिताको अनुहारको पुनर्निर्माण (रिकन्स्ट्रक्सन) लगायतका शल्यक्रिया चिकित्सकको टोलीले विभिन्न चरणमा गरिरहेको छ । भालुको आक्रमणले गम्भीर क्षति पुर्याएको अनुहार र टाउकोको उपचार शरीरका विभिन्न भागबाट छाला र मासु प्रयोग गरी पुनर्निर्माण गरिएको छ ।
सुनिताका पति तारा चन्दले पत्नीको जीवन जोगिए पनि लामो उपचारका कारण आर्थिक भार अत्यधिक बढेको बताएका छन् । उनका अनुसार अस्पतालले औषधि र शल्यक्रियाको खर्च परोपकारी सहयोगमार्फत निःशुल्क गरेको भए पनि बिरामी र कुरुवाको खाना तथा पोषण व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।
अस्पतालका म्यानेजिङ डाइरेक्टर प्रफुल्ल शर्माका अनुसार सुनिताको स्वास्थ्य सुधारका लागि विशेष पोषण योजना तयार गरिएको छ, जसअनुसार दैनिक दूध, अण्डा, सुप, चना, मासु, केरा र स्याउजस्ता पोषक आहार आवश्यक हुन्छ । उनले यस्तो व्यवस्थापनका लागि थप सहयोग आवश्यक रहेको बताए ।
घटना गत फागुन ४ गते बिहान भएको हो । बाख्रालाई पानी खुवाउन जाँदा खानेपानीको मुहान नजिकै जंगलबाट आएको भालुले सुनितामाथि अचानक आक्रमण गरेको थियो । प्रत्यक्षदर्शी गाउँलेहरूले भालुलाई धपाए पनि उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रारम्भिक उपचारपछि उनलाई धनगढी हुँदै भारतको लखनउस्थित अस्पतालमा लगिएको थियो, जहाँ करिब दुई महिना उपचार भयो । आर्थिक अभावका कारण थप उपचार सम्भव नभएपछि उनलाई नेपाल फर्काइएको थियो ।
पछि तिलगंगा आँखा अस्पतालमा उपचार गर्दा एउटा आँखाको ज्योति फर्किए पनि अर्को आँखाको अवस्था अझै जटिल रहेको छ । चिकित्सकले थप शल्यक्रिया आवश्यक रहेको बताएका छन् ।
हाल सुषमा कोइराला मेमोरियल अस्पतालमा प्राडा ईश्वर लोहनीको नेतृत्वमा उपचार जारी छ । चिकित्सकका अनुसार पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै तीनदेखि चार महिना लाग्न सक्छ ।
परिवारले दैनिक पोषण खर्च समेत धान्न कठिन भएको बताउँदै सहयोगको अपिल गरेको छ । अस्पतालले पनि सानो सहयोगले समेत बिरामीको जीवन पुनःस्थापनामा ठूलो योगदान पुग्ने जनाएको छ ।
भालुको आक्रमणपछि शारीरिक र आर्थिक दुवै संकट झेलिरहेको यो परिवार अहिले सहयोगी हातहरूको प्रतीक्षामा छ ।












