दार्चुला- दार्चुलाको ब्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी विद्यालयकै निवासमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार धामी सोमबार बिहान करिब ६ बजे विद्यालयको आवासमा मृत भेटिएका हुन् । घटनापछि स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल सिल गरेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत भेटिनुअघि धामीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनले आफूलाई विभिन्न व्यक्तिहरूले मानसिक तनाव, अपमान र झुटा आरोपमार्फत आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।
धामीले आफ्नो स्टाटसमा विद्यालयलाई नमुना बनाउने उद्देश्यसहित २०७७ सालमा सम्पाल माविमा सरुवा भएर आएको उल्लेख गर्दै पाँच वर्षको अवधिमा विद्यालयमा भौतिक तथा शैक्षिक सुधारका अनेक काम गरेको बताएका छन् । उनले विद्यालय भवन निर्माण, पुस्तकालय, आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड, बालमैत्री शौचालय, विज्ञान तथा कृषि प्रयोगशाला, हरित विद्यालय निर्माण, निःशुल्क पोशाक वितरण, अतिरिक्त कक्षा सञ्चालनलगायतका कामको सूची सार्वजनिक गरेका छन् ।
उनले केही शिक्षक, स्थानीय व्यक्ति र ठेकेदारमाथि आफूविरुद्ध षड्यन्त्र र चरित्रहत्या गरिएको आरोप लगाएका छन् । स्टाटसमा उनले आफूलाई बलात्कारजस्तो गम्भीर आरोपमा फसाउने प्रयास भएको दाबी गर्दै त्यसबाट आत्मसम्मानमा गहिरो चोट पुगेको उल्लेख गरेका छन् ।
धामीले केही व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गर्दै उनीहरूकै कारण आफू डिप्रेसनमा पुगेको र आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका छन् । उनले परिवारलाई डीएनए परीक्षण गराएर सत्य बाहिर ल्याउन आग्रहसमेत गरेका छन् ।
स्टाटसमा उनले आफ्नी पत्नी, छोराहरू, आफन्त तथा शुभचिन्तकप्रति भावुक सन्देश लेख्दै आफ्नो मृत्युपछि न्यायका लागि लड्न अनुरोध गरेका छन् ।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको स्टाटसलाई पनि अनुसन्धानको आधार बनाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी महतले बताए ।












