२०८३ कार्तिक १२
खाेज्नुहाेस

५० वर्षदेखि बैतडीका बासिन्दा कर तिर्न डडेल्धुरा धाउँदै

Image

डडेल्धुरा – बैतडीको मेलौली नगरपालिका–८ का करिब चार सय परिवारले झण्डै ५० वर्षदेखि जग्गाको मालपोत कर तिर्न डडेल्धुरा धाउनुपर्ने बाध्यता भोगिरहेका छन् । २०३२/३३ सालको नापी तथा अभिलेख त्रुटिका कारण साबिक विशालपुर गाविस (हाल मेलौली–८) को जग्गा स्रेस्ता डडेल्धुरामा रहँदा यो समस्या उत्पन्न भएको हो । स्थानीय तह पुनर्संरचना भइसके पनि समस्या अझै समाधान भएको छैन ।

स्थानीयले कर तिर्न, कागजात मिलाउन र अन्य जग्गासम्बन्धी कामका लागि निरन्तर डडेल्धुराको भागेश्वर गाउँपालिका–३ पुग्नुपरेको छ । वडाध्यक्ष तपेन्द्र विष्टका अनुसार पुरानो स्रेस्ता नसच्याइँदा सेवाग्राहीले अनावश्यक सास्ती भोगिरहेका छन् । स्थानीय युवराज विष्ट र गोकर्ण दमाईले पनि एउटै कामका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यताले समय र खर्च दुवै बढेको गुनासो गरेका छन् ।

डडेल्धुराको भागेश्वर–३ का वडाध्यक्ष डम्बरराज जोशीका अनुसार विगतको प्रशासनिक संरचना र नापीका कारण यस्तो अवस्था आएको हो । अहिलेको भूभाग बैतडीमा परे पनि स्रेस्ता डडेल्धुरामै रहेकाले समस्या जटिल बनेको उनले बताए ।

मालपोत कार्यालय डडेल्धुराका प्रमुख कमलापति भट्टका अनुसार २०३३ सालको नापी डडेल्धुराबाट भएकाले स्रेस्ता त्यहीँ रहेको हो । उनले बैतडीमा स्थानान्तरण गर्न सकिने विषयमा विभागमा राय पठाइएको र प्रक्रिया अघि बढिरहेको जानकारी दिए । ई–कपीमार्फत स्रेस्ता हस्तान्तरण भएमा समस्या समाधान हुने अपेक्षा गरिएको छ ।