२०८३ कार्तिक १३
खाेज्नुहाेस

विश्वका २४ प्रभावशाली नेताको सूचीमा प्रधानमन्त्री बालेन्द्र

Image

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनले सार्वजनिक गर्ने विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। म्यागेजिनले सार्वजनिक गरेको सूचीमा विश्वका २४ प्रभावशाली नेतामध्ये बालेन पनि समावेश भएका हुन्।

सूचीमा क्याथोलिक धर्मगुरु पोप लियो चौधौं, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाम, क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने, चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानका प्रधानमन्त्री साने ताकाइची, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, बंगलादेशका प्रधानमन्त्री तरिक रहमान तथा न्युयोर्क सहरका मेयर जोहरन मम्दानीलगायतका विश्व नेता समेटिएका छन्।

टाइमका पत्रकार चार्ली क्याम्पबेलले बालेनबारे लेख्दै उनलाई इमानदारी र विद्रोही छविका कारण उदाएका नयाँ पुस्ताका नेताका रूपमा चित्रित गरेका छन्। “आफ्नो इमानदारी बेच्नेहरूका लागि पैसा सजिलै उपलब्ध हुन्छ,” भन्ने सन्दर्भ उल्लेख गर्दै उनले ३५ वर्षीय पूर्व हिप–हप कलाकार बालेन मार्चमा नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री बनेको उल्लेख गरेका छन्।

बालेनको उदयको पृष्ठभूमिमा शरद् ऋतुमा भएको सडक आन्दोलनलाई मुख्य कारण मानिएको छ, जसमा ‘जेन–जी’ पुस्ताले भ्रष्ट र जनताबाट टाढिएका पुराना राजनीतिक शक्तिलाई हटाउने अभियान चलाएका थिए। यही आन्दोलनले नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गरेको विश्लेषण गरिएको छ।

सिभिल इन्जिनियरिङमा स्नातक गरेका बालेन आफ्नो प्रभावशाली प्रस्तुतिका साथै भ्रष्टाचारविरुद्ध खुलेर बोल्ने शैलीका कारण चर्चित छन्। चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी अहिले देशको नेतृत्वमा पुगेका छन्।

टाइमले बालेनको उदयलाई युवापुस्ताको शक्तिशाली उद्गार र दक्षिण एसियामा जरा गाडेको वंशवादी राजनीतिप्रतिको अस्वीकारका रूपमा व्याख्या गरेको छ। मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा सुधारका प्रयास गरेका थिए।

अमेरिकी र्‍यापर टुपाक शकुर र ५० सेन्टका प्रशंसक बालेनले राष्ट्रिय स्तरमा पनि त्यस्तै सुधार दिन सक्छन् कि सक्दैनन् भन्ने चासो अहिले बढ्दो छ। “सबै नयाँ–पुराना राजनीतिज्ञ चोर हुन्,” भन्ने उनको पुरानो भनाइ स्मरण गर्दै टाइमले नेपाली जनतामा उनीप्रति आशा र अपेक्षा उच्च रहेको उल्लेख गरेको छ।