काठमाडौं- नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया गतिविधि तथा अभद्र व्यवहारलगायत गैरकानुनी कार्यविरुद्ध देशभर सञ्चालन गरेको विशेष खोजी अभियानअन्तर्गत चार दिनमै २ सय २६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार चैत १८, १९, २० र २१ गते सञ्चालन गरिएको अभियानका क्रममा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार १८ गते काठमाडौं उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए । त्यस्तै १९ गते कोशीबाट १ जना, मधेस प्रदेशबाट ७ जना, बागमतीबाट २३ जना, गण्डकीबाट २ जना र कर्णालीबाट ११ जना पक्राउ परेका छन् ।
त्यसैगरी २० गते मधेस प्रदेशबाट ८ जना, गण्डकीबाट १० जना, लुम्बिनीबाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना पक्राउ परेका थिए भने २१ गते काठमाडौं उपत्यकाबाट मात्र ६२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू गुण्डागर्दी गर्ने, बिचौलियाको रूपमा काम गर्ने, यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप छ । प्रवक्ता काफ्लेले यस्ता गतिविधिविरुद्धको अभियान निरन्तर जारी रहने बताएका छन् ।












