२०८३ कार्तिक १२
खाेज्नुहाेस

बाजुरामा एक घण्टाको असिनाले सखाप बनायो गहुँ र तरकारी बाली

Image

बाजुरा-  त्रिवेणी नगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार दिउँसो करिब एक घण्टा परेको भारी असिनाले किसान त्रसित बनेका छन्। दिउँसो ३ बजेदेखि ४ बजेसम्म लगातार परेको असिनाले पाक्नै लागेको बालीमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

त्रिवेणी नगरपालिका–७ का स्थानीय गोरख ऐडीका अनुसार मालाकोट, धामीबाडा, कोसेडी र तोलीको जुम्ली डाँडासम्मको क्षेत्रमा परेको असिनाले गहुँबाली, आलु, प्याज, टमाटरलगायतका तरकारी पूर्ण रूपमा नष्ट भएका छन्।

हिउँदभरि मेहनत गरेर लगाइएका बाली एकैछिनमा नष्ट भएपछि किसानहरू गम्भीर चिन्तामा परेका छन्। “अहिले असिनाले बाली सखाप बनायो, अब वर्षायाममा खानेकुरा कसरी जोहो गर्ने भन्ने ठूलो समस्या देखिएको छ,” ऐडीले भने।

अचानक आएको प्राकृतिक विपत्तिले बाली नष्ट हुँदा किसानहरू राहत र क्षतिपूर्तिको माग गर्न थालेका छन्।