काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा भीषण दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनापछि अहिलेसम्म घटनास्थलबाट ६ जनाको शव फेला परेको छ। नदीको तीव्र बहावका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
अरनिको यातायात समितिका अनुसार उक्त बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायीका ३ जना गरी जम्मा ११ जना सवार थिए।
स्थानीय बासिन्दा अनिष बुढाथोकीका अनुसार दुर्घटना हुनासाथ चालकले बसबाट हाम फालेर फरार भएका छन्। उनका अनुसार बस नदीमा खस्ने क्रममा केही यात्रुहरू नदीको बहावसँगै बगाइएको आशङ्का गरिएको छ।
घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।













