२०८३ कार्तिक १२
खाेज्नुहाेस

पुर्चौडी बस दुर्घटनाले बित्थडचिर र बझाङ शोकमा

Image

बैतडी-  बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा सहोदर दाजुभाइ, भतिज र छोरी ज्वाइँसहित १३ जनाको ज्यान गएको छ। दुर्घटनाले बैतडीको पुर्चौडी नगरपालिका र बझाङको बित्थडचिर गाउँपालिका शोकमा डुबेका छन्।

दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू बेहुलाका सहोदर काका हुन्। नरेन्द्रराज जोशी बित्थडचिर गाउँपालिकामा प्राविधिक सहायकका रूपमा कार्यरत थिए भने विष्णुदत्त जोशी बित्थडचिरकै महादेव माध्यमिक विद्यालयमा शिक्षक थिए।

यस्तै, दुर्घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन्। उनी कृषि प्राविधिक पदमा कार्यरत थिए। बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन्। दुर्घटनामा मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा रहेको खुलेको छ।

घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन्। ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका अधिकांश व्यक्ति एउटै गाउँका आफन्त हुन् भने बाँकी इष्टमित्र रहेको बुझिएको छ। यस्तै, दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन्।

दुर्घटनामा पुर्चौडी–७ र बझाङको बित्थडचिरका बेहुला परिवारका आफन्त र इष्टमित्रको ज्यान गएको बताइएको छ। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीबार अपराह्न करिब ७ः३० बजे दुर्घटनामा परेको हो।

पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको जन्ती बोकेको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भानदेव बडूले जानकारी दिए। दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जनाको उद्धार गरिएको थियो। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि कोटिला स्वास्थ्य चौकी पठाइएको थियो भने गम्भीर घाइतेलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ।

दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारका क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशबराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रताला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन्।

प्रहरीका अनुसार घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा २ जनाको र डडेल्धुरा अस्पताल लैजाँदै गर्दा थप ५ जनाको मृत्यु भएको हो। पाँच जना गम्भीर घाइतेलाई डडेल्धुराबाट धनगढी रिफर गरिएको छ भने २५ जनाको डडेल्धुरामा उपचार भइरहेको छ। यस्तै, चार जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्रमा र बस चालकको बैतडीको पाटनमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट नेपाल प्रहरीको टोली खटिएको थियो भने पाटनबाट सशस्त्र प्रहरी बलका डीएसपी शंकर धामीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाहरूले पनि उद्धार कार्यमा सहयोग गरेका थिए।

बेहुली लिएर बझाङ फर्किने क्रममा जन्ती बोकेको बस उकालो घुम्तीमा ओभरलोडका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।