डडेल्धुरा- राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०८२’ प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा गरिबीको दर देशकै तुलनामा उच्च रहेको देखिएको छ । प्रतिवेदनमा समेटिएको गरिबीको दर उच्च भएका शीर्ष १० जिल्लामध्ये पाँच जिल्ला सुदूरपश्चिम प्रदेशका रहेका छन् ।
प्रतिवेदनअनुसार नेपालभरको समग्र गरिबीको दर २० दशमलव २७ प्रतिशत रहेको छ । तर सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा राष्ट्रिय औसतभन्दा उच्च गरिबी दर रहेको पाइएको छ ।
अछाममा सबैभन्दा बढी गरिबी, दोस्रोमा बैतडी
देशभर सबैभन्दा बढी गरिबीको दर रहेको जिल्लाको सूचीमा अछाम पहिलो स्थानमा रहेको छ । अछाममा झण्डै ५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कले देखाएको छ । जिल्लाको कुल जनसंख्या २ लाख २७ हजार ७१९ मध्ये १ लाख १२ हजार ९०२ जना गरिब, अर्थात् ४९ दशमलव ५८ प्रतिशत छन् ।
देशभरकै दोस्रो बढी गरिबीको दर भएको जिल्ला बैतडी हो । बैतडीमा गरिबीको दर ४८ दशमलव ६५ प्रतिशत रहेको छ । जिल्लाको कुल जनसंख्या २ लाख ४१ हजार ४२३ मध्ये १ लाख १७ हजार ४६३ जना गरिब रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी बाजुरा देशभरकै तेस्रो बढी गरिबीको दर भएको जिल्लाको रूपमा सूचीमा परेको छ । बाजुरामा गरिबीको दर ४७ दशमलव ८१ प्रतिशत छ । जिल्लाको कुल जनसंख्या १ लाख ३७ हजार ७३२ मध्ये ६५ हजार ८४७ जना गरिब छन् ।
गरिबीको दर उच्च रहेका दस जिल्लाको सूचीमा डोटी पाँचौं स्थानमा छ । डोटीमा गरिबीको दर ४२ दशमलव ८१ प्रतिशत रहेको छ । जिल्लाको कुल जनसंख्या २ लाख १ हजार ७७८ मध्ये ८६ हजार ३७६ जना गरिब छन् ।
यस्तै, बझाङ गरिबीको दर बढी हुने जिल्लाको सूचीमा नवौं स्थानमा रहेको छ । बझाङमा गरिबीको दर ३८ दशमलव ८३ प्रतिशत छ । जिल्लाको कुल जनसंख्या १ लाख ८८ हजार ७२५ मध्ये ७३ हजार २८९ जना गरिब रहेका छन् ।
अन्य जिल्लाको अवस्था
प्रतिवेदनअनुसार दार्चुला जिल्लामा पनि गरिबीको दर ३८ दशमलव ८३ प्रतिशत छ । जिल्लाको कुल जनसंख्या १ लाख ३२ हजार २२३ मध्ये ७६ हजार २८९ जना गरिब छन् ।
डडेल्धुरा जिल्लामा गरिबीको दर ३३ दशमलव २७ प्रतिशत रहेको छ । जिल्लाको कुल जनसंख्या १ लाख ३८ हजार ५३८ मध्ये ४६ हजार ८३ जना गरिब रहेको तथ्याङ्कले देखाएको छ ।
प्रदेशकै ठूलो जिल्ला कैलालीमा गरिबीको दर २८ दशमलव २३ प्रतिशत छ । जिल्लाको कुल जनसंख्या ८ लाख ९९ हजार ५५१ मध्ये २ लाख ५३ हजार ९२८ जना गरिब रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम गरिबीको दर रहेको जिल्ला कञ्चनपुर हो । कञ्चनपुरमा गरिबीको दर २४ दशमलव ५२ प्रतिशत छ । जिल्लाको कुल जनसंख्या ५ लाख ११ हजार २१ मध्ये १ लाख २५ हजार २८० जना गरिब रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।













