बैतडी – बैतडीमा लागू औषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।
जिल्लाको पाटन नगरपालिका–६ स्थित बजार क्षेत्रमा रहेको एसकेएनएस निर्माण सेवा प्रालिबाट सोही ठाउँका २१ वर्षीय हेमन्त बिष्ट, २२ वर्षीय कपिल बिष्ट, १८ वर्षीय शशांक चन्द, २० वर्षीय विष्णु बिष्ट र २२ वर्षीय सुभाष कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।
लागू औषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा मंगलबार गरिएको खानतलासीका क्रममा लुकाइराखेको अवस्थामा २५० मिलिग्राम खैरो हेरोइन फेला पारेर पाँचै जनालाई नियन्त्रणमा लिइएको उनले बताए।
पक्राउ परेका पाँचै जनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय लागू औषधको कारोबार र दुर्व्यसन बढ्दै गएपछि प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। युवावर्गसमेत लागू औषधको दुर्व्यसनमा फस्न थालेकाले यसको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।












