बैतडी- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडी जिल्लामा प्रमुख राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको सूचीले रोचक र कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ।
नेकपा एमाले बैतडीको नवौँ पूर्ण बैठकले पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। जिल्ला अध्यक्ष नरेश विकका अनुसार २०७० सालदेखि लगातार तीन पटक निर्वाचन जितेका भण्डारीलाई पार्टीले सर्वसम्मत रूपमा अघि सारेको हो। भण्डारी जेन–जी आन्दोलन अघि मन्त्री रहेका थिए।
दामोदर भण्डारीलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उनकै नाता पर्ने हरिमोहन भण्डारी उम्मेदवार बन्ने सम्भावना प्रबल देखिएको छ। रास्वपाले उम्मेदवारको अन्तिम टुंगो लगाउन बाँकी रहे पनि हरिमोहन भण्डारी र पूर्वमहासेनानी शिवराज पन्तको नाम चर्चामा छ। यद्यपि, जिल्लास्तरमा पन्तभन्दा हरिमोहनको सम्भावना बलियो रहेको बताइन्छ।
यदि रास्वपाले हरिमोहन भण्डारीलाई टिकट दिएमा पाटन नगरपालिकाका एउटै गाउँका दामोदर र हरिमोहन भण्डारीबीच कडा चुनावी भिडन्त हुने देखिन्छ। हरिमोहन २०७९ को निर्वाचनमा झिनो मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका थिए।
अर्कोतर्फ, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चन्द बन्धुलाई चुनावी मैदानमा उतार्ने तयारी गरेको देखिन्छ। नेपाली कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा शिक्षक संघको राजनीतिबाट उदाएका जिल्ला सभापति चतुरबहादुर चन्दलाई उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ।
त्यस्तै, राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पुत्र भुपेन्द्र चन्दलाई प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीका जिल्ला प्रवक्ता देवेन्द्रबहादुर मालले जानकारी दिए।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीका केन्द्रीय सदस्य प्रेमप्रकाश भट्टका अनुसार मंगलबार बस्ने जिल्ला कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ। सो पार्टीबाट नरेन्द्रबहादुर कुँवर वा परमानन्द भट्टमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना रहेको छ।













