बैतडी- बैतडीमा एक महिलाको मृत्यु भएपछि उनको नाम प्रदेश लोक सेवा आयोगको परीक्षामा सफल उम्मेदवारको सूचीमा सार्वजनिक भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–३ घर भएकी भागरती कुँवरको मृत्यु पश्चात् प्रदेश लोक सेवा आयोग कोशीले लिएको अनमी (सहायक स्तर चौथो तह) पदको परीक्षामा खुला र महिला दुवै क्लस्टरमा उनको नाम निस्किएको हो ।
प्रदेश लोक सेवा आयोग कोशीले गत असार महिनामा लिएको उक्त परीक्षामा चार हजार ४७ जना परीक्षार्थी सहभागी भएका थिए । सो परीक्षामा खुला तर्फ ८१ सिटका लागि कुँवरसहित ९० जना र महिलातर्फ २० सिटका लागि कुँवरसहित १२८ जना परीक्षार्थी लिखित परीक्षामा सफल भएका छन् ।
केही दिनअघि सार्वजनिक गरिएको नतिजामा नाम समावेश भएकी २३ वर्षीया कुँवरको गत भदौ १ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनले आत्महत्या गरेकी हुन् ।
कुँवर विवाहित थिइन् । उनले शिक्षा संकायमा स्नातक तह उत्तीर्ण गरेकी थिइन् र पुर्चौडी नगरपालिका अन्तर्गतको एक स्वास्थ्यचौकीमा कार्यरत थिइन् ।













