डडेल्धुरा- डडेल्धुरामा स्थानीय उत्पादन, कृषि, पर्यटन र व्यापार प्रवर्द्धनलाई लक्ष्य गर्दै आयोजना गरिएको चौथो भित्री मधेष कृषि पर्यटन व्यापार मेला २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
परशुराम नगरपालिकाको परशुराम रंग मैदानमा सुरु भएको महोत्सव मङ्सिर २९ गते सोमबार औपचारिक रूपमा समापन भएको हो। महोत्सवको उद्घाटन परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले गरेका थिए।
उद्योग वाणिज्य संघ जोगबुडाका अध्यक्ष हरिप्रसाद जोशीको अध्यक्षता तथा सुदूरपश्चिम प्राविधिक विश्वविद्यालयका उपकुलपति टीएन जोशीको प्रमुख आतिथ्यतामा महोत्सवको समापन कार्यक्रम सम्पन्न भएको उद्योग वाणिज्य संघ जोगबुडाका महासचिव हिक्मतबहादुर साउदले जानकारी दिए।

१० दिनसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, झुला तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनुका साथै स्थानीय व्यापार, कृषि उत्पादन र स्टलमार्फत व्यापार प्रवर्द्धनमा विशेष जोड दिइएको थियो।
महोत्सव अवधिभर स्थानीय व्यवसायी र उद्यमीलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर मिलेको भन्दै आयोजकले यसले भित्री मधेष क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको बताएका छन्।
परशुराम नगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न महोत्सवमा जेआरएस ट्रेडर्स धनगढी लगायत विभिन्न स्थानीय संघसंस्था सह–प्रायोजकका रूपमा रहेका थिए।
महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उद्योग बाणिज्य संघ जोगबुडाका अध्यक्ष हरिप्रसाद जोशीले आगामी दिनमा व्यापारी, व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालासँगको समन्वयमा व्यवसायिक हकहित र स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।












