२०८३ कार्तिक १२
खाेज्नुहाेस

बाजुराको हिमाली गाउँपालिका ५ महिनादेखि अन्धकारमा

Image

बाजुरा- बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विगत पाँच महिनादेखि पूर्ण रूपमा अन्धकारमा रहेको छ।

२०७८ साल फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाबाट उत्पादन गरिएको १ सय किलोवाट विद्युत् गाउँपालिकाका करिब १ हजार १ सय घरधुरीमा वितरण हुँदै आएको थियो। तर गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले विद्युत् नहर पूर्ण रूपमा बगाएपछि पालिकाभर विद्युत् सेवा ठप्प भएको छ।

उक्त बाढीले विद्युत् मात्र होइन, खानेपानी, सडक तथा अन्य भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको थियो। अन्य संरचनाहरूको मर्मत भए पनि विद्युत् नहर मर्मतका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले अहिलेसम्म पुनः सञ्चालन हुन नसकेको हिमाली गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार बाढीका कारण नहरमा गम्भीर क्षति पुगेकाले मर्मत खर्च पहिलेको तुलनामा धेरै बढेको छ। “बत्ती नहुँदा स्थानीय बासिन्दा विद्युतीय सेवाबाट पूर्ण रूपमा वञ्चित भएका छन्,” उनले भने, “प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिए पनि हालसम्म कुनै आर्थिक सहायता प्राप्त भएको छैन।”

अध्यक्ष मल्लले बाढीपहिरोका कारण यसअघि सम्पन्न तथा निर्माणाधीन विकास आयोजनामा समेत ठूलो क्षति पुगेको उल्लेख गरे। उनका अनुसार सीमित स्रोतसाधनका कारण पुनर्निर्माण कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ।