दार्चुला- दार्चुला प्रहरीले ललितपुरस्थित नख्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदीलाई पक्राउ गरेको छ। मालिकार्जुन गाउँपालिका–७ का २३ वर्षीय दीपक चन्दलाई मंगलबार बिहान सदरमुकाम नजिकको पुलघाट क्षेत्रमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
गस्तीका क्रममा शंकास्पद रूपमा हिँडिरहेको देखिएपछि चन्दलाई बिहान ११ बजे नियन्त्रणमा लिइएको सहप्रवक्ता देवन्द्रसिंह बुढाथोकीले जानकारी दिए। चन्दलाई दार्चुला जिल्ला अदालतले २०७८ सालमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका उनी २०८२ भदौ २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा बन्दीगृहबाट फरार भएका थिए। पक्राउ परेका चन्दलाई आवश्यक प्रक्रिया पूरा गरी दार्चुला कारागार पठाइएको प्रहरीले जनाएको छ।













