काठमाडौ स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन को क्रममा विभिन्न अपराधी समुहले कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना गरेको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ ।
उजुरीमा यी घटनाहरुसँग संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरुबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ ।
एनसेल भवनको अगाडि भागको सिसाहरु फुटाई कार्यालय भित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरु तोडफोड तथा आगजनी गरेकोको कम्पनीले दावी गरेको छ ।
कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महंगा मोटरगाडीहरु भेहिकल रुपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरि भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पान्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रुपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरु समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।
प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ ।
तोडफोड, आगजनी, डकैतिबाट कम्पनीको सम्पतिमा भएको वास्तविक क्षति यकिन गर्न मुल्याङ्कनको कार्य भैरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि जानकारी सो उजुरीमा खुलाएको छ ।













