२०८३ कार्तिक ९
खाेज्नुहाेस

यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे विद्यार्थीलाई अभिमुखीकरण

Image

डडेल्धुराको जिल्ला सदरमुकाममा रहेको महेन्द्र माविमा आज यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौंको आयोजनामा मंगलबार विद्यालयमा रहेको युवा रेडक्रस सोसाइटी र महेन्द्र नमुना बाल क्लवका पदाधिकारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका महत्वका साथै किशोरावस्थामा आउने शारीरिक तथा मानसिक अवस्था र यस समयमा अपनाउनुपर्ने सावधानीका विषयमा छलफल गरिएको थियो। साथै, नेपालमा गर्भपतनका विषयमा रहेका कानुनी प्रावधान, यौन सम्पर्कबाट सर्ने संक्रमण, संक्रमणहरू सर्ने कारण तथा यसबाट बच्ने उपायका बारेमा विद्यार्थीहरूलाई समूह छलफल तथा प्रस्तुतीकरणका माध्यमबाट सहजीकरण गरिएको थियो।

रुडुकद्वारा पपुलेसन कनेक्सनको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण परियोजना अन्तर्गत परियोजनाका संयोजक आयुषा श्रेष्ठले कार्यक्रममा सहजीकरण गरेकी थिइन्।

कार्यक्रममा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सही जानकारी प्रदान गर्दै उनीहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार बनाउन कार्यक्रम केन्द्रित रहेको आयोजकले जनाएको छ।