नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले बताएका छन्।
सभापति साउँदका अनुसार जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडामा पनि आज अधिवेशन सम्पन्न गर्ने तयारी छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन प्रक्रिया अघि बढाइएको हो। यता कांग्रेस डडेल्धुराको जिल्ला नेतृत्वभित्रै अधिवेशन प्रक्रियालाई लिएर मत भिन्नता देखिएको छ।
जिल्ला सभापति भीमबहादुर साउँद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वसभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरा, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव प्रेमबहादुर महरसहित गोविन्दराज बोहरा, हरिप्रसाद भट्ट र करुणाकर भट्ट लगायतका नेताहरू वडा अधिवेशन प्रक्रियामा सहभागी भएका छन्।
जिल्ला उपसभापतिहरु डिल्लिराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सचिव शेरबहादुर भण्डारी, पूर्वराज्यमन्त्री सरस्वती खड्का, जगत ऐरलगायतका नेताहरू पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते अघि बढाउने भनिएको समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन्।












