गृह जिल्ला पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताएका छन्। नेपाल पत्रकार महासंघ डडेलधुराले आज विहान महासंघको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतका बेथिति र कमजोरी सच्याएर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताएका हुन्।

मुख्यमन्त्री भट्टले प्रदेशको बजेट निर्माणमा जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखिने बताए। विशेषगरी दुर्गम क्षेत्र तथा सीमान्तकृत समुदायका आवश्यकता, भावना र योजनालाई प्राथमिकताका साथ बजेटमा समेटिने उनले जानकारी दिए ।
उनका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायत प्रदेशका महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखिनेछ। विगतका बजेटमा देखिएका कमजोरी सच्याउँदै आवश्यकताका आधारमा योजना छनोट र प्राथमिकता निर्धारण गरिने उनले बताए।
मुख्यमन्त्री भट्टले प्रदेशको आवश्यकता र जनताको अपेक्षाअनुसार बजेट पुनर्लेखन गरिने उल्लेख गर्दै नयाँ आयामसहित अघि बढाइने बताए। बजेट निर्माणका क्रममा जनताको प्रत्यक्ष सरोकार र जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे।

यसैगरी, दैजी–जोगबुढा सडकलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको मुख्यमन्त्री भट्टले बताए। प्रदेशका महत्वपूर्ण तथा रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाउने सरकारको योजना रहेको उनले जानकारी दिए।
प्रदेश राजधानी निर्माणको काम पनि यसै वर्षदेखि सुरु गर्ने उनले बताए। राजधानी निर्माणलाई केवल भौतिक संरचना निर्माणको विषयका रूपमा नभई सुदूरपश्चिमको मौलिकता, पहिचान र आवश्यकतालाई स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने उनको भनाइ छ।
मुख्यमन्त्री भट्टले नयाँ बजेटमार्फत विगतका अभ्यास र कमजोरी सुधार गर्दै प्रदेशको विकासमा नयाँ आयाम थपिने दाबी गरे। बजेटविहीनताको अवस्थाबाट बाहिर निस्कँदै जनताका आवश्यकता सम्बोधन हुने गरी सरकार अघि बढ्ने उनले बताए।













