डडेल्धुरा — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भोलि भाद्र १६ गते गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। जिल्ला समन्वय समिति डडेल्धुराले आयोजना गर्न लागेको जिल्ला सभा तथा जिल्लाको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन मुख्यमन्त्री भोलि १६ गते बेलुकी डडेल्धुरा आइपुग्ने कार्यक्रम तय भएको छ।

भ्रमण कार्यतालिका अनुसार मुख्यमन्त्री १६ गते साँझ डडेल्धुरा पुगेर बास बस्नेछन्। त्यसलगत्तै भदौ १७ गते बिहानैदेखि उनी जिल्लाका विभिन्न औपचारिक कार्यक्रम तथा छलफलमा व्यस्त रहनेछन्। १७ गते बिहान ७ः३० बजे नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्ने कार्यक्रम छ।
त्यसपछि बिहान ८ः०० बजे उद्योग वाणिज्य संघसँग जिल्लाको आर्थिक तथा व्यावसायिक अवस्थाबारे अन्तरक्रिया र ९ः०० बजे जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरूसँग सेवा प्रवाह र विकास निर्माणसम्बन्धी समीक्षा तथा निर्देशन बैठक तय गरिएको छ।
यसैगरी, बिहान १०ः०० बजे जिल्ला समन्वय समितिको हलमा आयोजना हुने जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्रीले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनेछन्। कार्यक्रमपश्चात् दिउँसो १२ः३० बजेदेखि स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूसँग खुला भेटघाट गर्ने समय निर्धारण गरिएको छ।
गृहजिल्लाका विभिन्न महत्वपूर्ण कार्यक्रम तथा भेटघाट सम्पन्न गरी मुख्यमन्त्री १७ गते दिउँसो ३ः०० बजे प्रदेश राजधानी धनगढीका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री सचिवालयले बताएको छ।












