विगत केही वर्ष पहिले देखी सुदूरपश्चिम नेपाली समाज टेक्ससको आयोजनामा टेक्सास राज्यको विभिन्न स्थानमा भव्य रूपमा मनाइने गौरा पर्व यो वर्षको लागी रद्द गरिएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो एकता’ भन्ने नाराका साथ आगामी सेप्टेम्बर ५ मा अष्टिनस्थित पशुपती मन्दिरमा विविध सांस्कृतिक कार्यक्रम सहित मनाउन लागीएको गौरा पर्व यो वर्षको लागी रद्द गरिएको हो । लोक गायक तथा सांस्कृतिक प्रस्तोता शंकर सिंह बिष्ट र लोक तथा देउडा गायिका चाँदनी मल्लको विशेष सांगीतिक प्रस्तुति सहित भव्य रुपमा आयोजना गर्ने तयारीमा रहेको गौरा पर्व नेपालमा केही दिन पहिले आएको बाढीले देश दुखमा भएको कारण रद्द गरिएको आयोजक सुदूरपश्चिम नेपाली समाज टेक्ससले जनाएको छ।
सुदूरपश्चिम नेपाली समाज टेक्ससको आयोजना तथा ग्रेटर अष्टिन नेप्लिज सोसाइटीको सहयोगमा हुन लागेको कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र लोक संस्कृतिको प्रस्तुति रहने योजना रहेकोमा अव सामान्य रुपमा पुजाआजा मात्र गरिने गौरा पर्व मुल आयोजक समिति अस्टिनका संयोजक शुरेन्द्र प्रसाद अवस्थिले बताउनु भयो ।

गौरा सुदूरपश्चिमेली समुदायको प्रमुख मौलिक पर्व हो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वले सुदूरपश्चिमको कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन सुदूरपश्चिम नेपाली समाज टेक्ससले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।












