२०८३ कार्तिक १२
खाेज्नुहाेस

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

Image

विश्व स्वास्थ्य सङ्गठन , राष्ट्रसङ्घीय बाल कोष, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगष्टको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ ।

यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ ’ नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । अभियानले स्तनपान प्रवर्द्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

डब्ल्युएचओका अनुसार विश्वका विभिन्न मुलुकमा अझै पनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन् । यद्यपि स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो । यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।

स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्युएचओले जनाएको छ । नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र ‘टाइप–२’ मधुमेहजस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ।