२०८३ श्रावण १२
खाेज्नुहाेस
विज्ञापन

मातृ, नवजात र बाल स्वास्थ्यमा सुधार ल्याउन डडेल्धुरामा नयाँ कार्यक्रम शुभारम्भ

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा – मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले डडेल्धुरामा ‘मातृ, नवजात, बाल स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ। संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा इपीक नेपाल, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्यमा सञ्चालन हुने कार्यक्रम जिल्लाका सातै स्थानीय तहमा विस्तार गरिनेछ।

जिल्ला सदरमुकाममा आयोजित शुभारम्भ तथा अभिमुखीकरण कार्यशालामा गर्भावस्थादेखि सुत्केरी अवस्था, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य तथा पोषण सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिइयो। कार्यक्रममार्फत स्वास्थ्य संस्थामा आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराउने, आपतकालीन स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्ने, स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि गर्ने र खरिद–आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै मातृ तथा नवजात शिशु मृत्युदर घटाउन अझ प्रभावकारी प्रयास आवश्यक रहेको औँल्याएको थियो। इपीक नेपालका प्रतिनिधिले कार्यक्रमका उद्देश्य, उपलब्ध गराइने सहयोग र स्थानीय तहमा सञ्चालन गरिने गतिविधिबारे प्रस्तुति दिएका थिए।

प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले मातृ, नवजात तथा बाल स्वास्थ्य क्षेत्रमा अझै चुनौती रहेकाले कार्यक्रम सफल बनाउन सरकारी निकायबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता जनाए। जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन, बाल कुपोषण न्यूनीकरण गर्न र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशर साउदले कार्यक्रमले जिल्लाको स्वास्थ्य सूचक सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्दै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। रुडुकका कार्यकारी निर्देशक अमर साउदका अनुसार कार्यक्रमले स्वास्थ्य कार्यालय, स्थानीय तह, स्वास्थ्य संस्था, विकास साझेदार तथा समुदायबीचको समन्वयलाई थप सुदृढ गर्दै डडेल्धुराका सातै स्थानीय तहमा मातृ, नवजात तथा बाल स्वास्थ्य र पोषण सुधारका विभिन्न गतिविधि सञ्चालन गर्नेछ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन