दार्चुला – दार्चुलाको महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल निर्माण सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन। नेपालतर्फको पहुँच सडक निर्माण अन्तिम चरणमा पुगे पनि आवश्यक पूर्वाधार तयार नहुँदा पुल सञ्चालनमा ढिलाइ भएको हो।
करिब ११० मिटर लम्बाइको दुई लेनको पुल दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको धार्चुला तहसिलअन्तर्गतको छारछुम क्षेत्रलाई जोड्छ। नेपालतर्फ पुलसँग जोडिएको करिब १३० मिटर सडकमा ढलानको काम भइरहेको छ। निर्माण कम्पनीका सब–इन्जिनियर हेम पाण्डेका अनुसार उक्त काम आगामी अगस्टभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
स्थानीय व्यवसायीहरूले पुल तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। स्थानीय जीप व्यवसायी नरेश भट्टले पुल सञ्चालन भए दार्चुलाको व्यापार, पर्यटन तथा आवागमनमा ठूलो सहजता आउने बताए।
प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले नेपालतर्फ आवश्यक पूर्वाधार निर्माण गरी पुल छिट्टै सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार पुल सञ्चालनअघि नेपालतर्फ भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरीका संरचना निर्माण गर्न बाँकी छ।
२०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा पुलको शिलान्यास गरेका थिए। भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले निर्माण गरेको पुल सञ्चालनमा आएपछि दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाको व्यापार, पर्यटन र सीमापार आवागमनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।












