धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता परिवर्तनको सम्भावना बलियो बन्दै गएको छ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् भने नयाँ मुख्यमन्त्रीका रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्टको नाम अग्रपंक्तिमा आएको छ।
संविधानअनुसार मुख्यमन्त्री शाहले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ। तर वर्तमान अंकगणित हेर्दा उनले बहुमत जुटाउने सम्भावना निकै कमजोर देखिएको छ। यही कारण प्रदेशको राजनीति नयाँ सरकार गठनतर्फ केन्द्रित भएको छ।
स्रोतका अनुसार पछिल्ला केही दिनदेखि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणबारे निरन्तर छलफल भइरहेको छ। नेकपाले सरकारको नेतृत्व दाबी गर्दै खगराज भट्टलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ। कांग्रेस र एमाले दुवै दल भट्टको नेतृत्व स्वीकार गर्न सकारात्मक देखिए पनि मन्त्रालय बाँडफाँट र साझा कार्यक्रमबारे अन्तिम सहमति हुन बाँकी छ।
नेकपाका प्रदेशसभा सदस्य अक्कल रावलले पनि सत्ता परिवर्तन अब धेरै टाढा नरहेको संकेत दिएका छन्। उनका अनुसार दलहरूबीच सहमति भए मुख्यमन्त्री शाहले विश्वासको मत लिनुअघि नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सक्छ। यद्यपि अन्तिम निर्णय केन्द्रको सहमतिमा निर्भर रहने उनले बताए।
यसैबीच नेकपाकी सुदूरपश्चिम सहइन्चार्ज रञ्जिता चौधरीले प्रदेश सरकार नेकपाको नेतृत्वमा बन्ने दाबी गर्दै कांग्रेस वा एमालेमध्ये कुन दलसँग गठबन्धन गर्ने भन्ने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्णय लिने बताएकी छन्।
यदि मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्न नसके वा त्यसअघि नै राजीनामा दिए प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ। यस्तो अवस्थामा खगराज भट्ट दोस्रो कार्यकालमा सुदूरपश्चिमका पाँचौँ मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ।
दोस्रो प्रदेशसभा कार्यकालमा सुदूरपश्चिममा सरकार परिवर्तन बारम्बार हुँदै आएको छ। २०७९ यता राजेन्द्रसिंह रावल, कमलबहादुर शाह (दुई पटक) र दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनिसकेका छन्। अहिले फेरि सरकार परिवर्तनको संघारमा पुगेको प्रदेशमा लगातारको राजनीतिक अस्थिरताले बजेट कार्यान्वयन, विकास आयोजना र प्रशासनिक कामकारबाहीसमेत प्रभावित भएका छन्।












