२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट यसै वर्ष एमबीबीएस पढाइ सुरु गर्ने तयारी, ५० विद्यार्थी भर्ना गरिने

विज्ञापन
Image
विज्ञापन

धनगढी- लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबीबीएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ।

नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले पदभार ग्रहण गरेसँगै विश्वविद्यालयको प्राथमिकता सात अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको पूर्वाधारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने रहेको बताएका छन्। उनका अनुसार चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने लक्ष्य राखिएको छ।

विश्वविद्यालयले पहिलो चरणमा एमबीबीएसमा ५० विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। साथै बीएससी नर्सिङ, ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र बी. अप्टोमेट्री कार्यक्रम पनि सञ्चालन गरिनेछ। चिकित्सा शिक्षा आयोगको अनुगमन टोली करिब एक महिनाभित्र पुग्ने अपेक्षा गरिएको छ। आवश्यक स्वीकृति प्राप्त भएपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ।

शैक्षिक कार्यक्रमसँगै ६ सय शय्याको अस्पतालमध्ये प्रारम्भिक चरणमा ३ सय शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याइने तयारी गरिएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक सङ्गठन तथा व्यवस्थापन संरचना स्वीकृत भइसकेको छ भने बजेट व्यवस्थासमेत सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन पनि अघि बढाइएको छ। ७७ जना फ्याकल्टी पदका लागि आवेदन आह्वान भइसकेको छ। प्राध्यापक र सह–प्राध्यापकको अन्तर्वार्ता सम्पन्न भइसकेको छ भने उप–प्राध्यापक नियुक्तिपछि नियमित शैक्षिक तथा प्राज्ञिक गतिविधि सुरु गरिनेछ।

पाँच वर्षदेखि प्रयोगविहीन रहेका स्वास्थ्य उपकरणहरूको प्राविधिक परीक्षण गरी प्रयोगयोग्य उपकरण मर्मत गर्ने र आवश्यक नयाँ उपकरण खरिद गर्ने तयारी पनि गरिएको छ।

विश्वविद्यालयले टेलिमेडिसिन सेवा विस्तारमार्फत अछामको रामारोशन र बाजुराको बडीमालिकालगायत दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने योजना अघि सारेको छ। यसका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा संस्थासँग सहकार्य गरिने जनाइएको छ।

दीर्घकालीन योजनाअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल र लम्की–चुहा अस्पताललाई विश्वविद्यालयसँग आबद्ध गर्दै शिक्षण अस्पतालका रूपमा विकास गर्ने तयारी गरिएको छ। यसबाट विद्यार्थीलाई प्रदेशभित्रै व्यावहारिक प्रशिक्षणको अवसर मिल्ने र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन