धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन्। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सदस्यता नवीकरण गरेका हुन्।
कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री शाहले साउन ३ गते नै सदस्यता अध्यावधिक प्रक्रिया पूरा गरेका थिए। उनको सक्रिय सदस्यता नम्बर एनसीआईडी ७६३७४९१ रहेको जनाइएको छ।
कांग्रेसले सक्रिय सदस्यता अध्यावधिक गर्ने समयसीमा पटक–पटक थप गर्दै आएको थियो। सोही अवधिभित्र शाहले सोमबार प्रक्रिया पूरा गरेका हुन्।
मुख्यमन्त्री शाह कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका नेतामध्ये एक हुन्। तर अदालतको निर्णयपछि उनले गगन थापालाई पार्टी सभापतिको रूपमा स्वीकार गरेको धारणा सार्वजनिक गरेका थिए।
यसअघि गगन थापाको उपस्थितिमा आयोजित एक कार्यक्रममा शाहले कांग्रेसले पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका र स्थानबारे स्पष्ट धारणा बनाउनुपर्ने बताएका थिए।
उनले पार्टीभित्र रहेका सबै पक्षलाई सम्मानजनक स्थान दिँदै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कांग्रेसभित्र आन्तरिक विवाद र पार्टी विभाजनको चर्चाबीच मुख्यमन्त्री शाहले सक्रिय सदस्यता अध्यावधिक गरेका हुन्।












