बाजुरा- बाजुराको हिमाली गाउँपालिका–५ किउडीमा भएको जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा नेपाली कांग्रेस ताँजाकोट गाउँपालिका–५ का वडा सचिव अमरसिंह बुढा र हिमाली गाउँपालिका–२ का धर्मलाल बुढा रहेका छन्।
लोटपाता निवासी ४० वर्षीय अमरसिंह बुढालाई दुर्घटनापछि हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत उद्धार गरी कोल्टी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको नेपाली कांग्रेस हुम्लाका जिल्ला कार्यसमिति सचिव तिलकबहादुर शाहीले जानकारी दिए।
यस्तै, हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढाको पनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। दुवै जनाको सोमबार साँझ ५ः५० बजे उपचारका क्रममा मृत्यु भएको हो।
सोमबार दिउँसो १ः२५ बजे हिमाली गाउँपालिका–५ को क्युडी–कुवाडी सडकखण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जीप दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालकसहित नौ जना घाइते भएका थिए। घाइते सबैलाई उद्धार गरी उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












