कञ्चनपुर – कञ्चनपुरमा च्याउ खोज्दा खोज्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका १४ महिला पनि सकुशल भेटिएका छन । उनीहरु सोमबार दिउँसो सवा १२ बजेतिर आफै सकुशल घर पुगेका हुन ।
निकुञ्ज भित्र प्रवेश गरेपछि बाटो थाहा नपाएर हराएका उनीहरु आफै घर पुगेको भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले बताए । उनीहरु आइतबार बिहान घरबाट च्याउ खोज्न जंगल गएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका थिए ।












