२०८३ कार्तिक १२
खाेज्नुहाेस

दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा दिन दार्चुला पुगे डा. गोविन्द केसी

Image

दार्चुला – चिकित्सा शिक्षा सुधार अभियन्ता तथा हाडजोर्नी एवं नसारोग विशेषज्ञ डा. गोविन्द केसी छाङरु र टिंकर गाउँका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न दार्चुला पुगेका छन्।

डा. केसी ब्यास गाउँपालिका–१ अन्तर्गतका छाङरु र टिंकरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यले दार्चुला आएका हुन्। उनले यसअघि पनि विभिन्न समयमा दार्चुलाका दुर्गम क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेका थिए। कोरोनाकालमा टिंकर जाने प्रयास गरे पनि बाटोको समस्याका कारण दार्चुला सदरमुकामबाटै फर्किनुपरेको थियो।

यसपटक दुर्गम बस्तीका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आएको बताउँदै डा. केसीले स्थानीयको स्वास्थ्य उपचारलाई प्राथमिकता दिइने जानकारी दिए।

छाङरु र टिंकर पुग्न अहिले पनि भारतीय भूभाग हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। भारतीय प्रशासनबाट अनुमति प्राप्त हुने प्रतीक्षामा रहेका डा. केसीले आइतबार दार्चुलाको खलंगामा बसोबास गरिरहेका छाङरु र टिंकरका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

शिविरमा मुख्य रूपमा हाडजोर्नी तथा नसासम्बन्धी रोगको परीक्षण र उपचार गरिनेछ। आवश्यक उपकरणको अभावका कारण जटिल शल्यक्रिया सम्भव नभए पनि स्थानीय स्वास्थ्य संस्थामा उपलब्ध स्रोत–साधनको प्रयोग गरी सम्भव भएसम्म शल्यक्रिया सेवा समेत प्रदान गरिने डा. केसीले बताए।

शिविरका लागि आवश्यक औषधिको व्यवस्था ब्यास गाउँपालिकाले गर्ने जनाएको छ। स्थानीयको आग्रह र आफ्नै प्रतिबद्धताअनुसार छाङरु र टिंकरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको डा. केसीले बताए।