२०८३ कार्तिक १२
खाेज्नुहाेस

कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजीमा प्रहरी र सेना परिचालन

Image

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

भीमदत्त नगरपालिका–१९ को बागफाँटा निवासी ती महिलाहरू आइतबार बिहान करिब ११ बजेदेखि सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र परिचालित सेनाको टोलीले खोजी कार्य जारी राखेको उनले बताए।

सम्पर्कविहीन महिलाहरू निकुञ्जको मालुमेला पोस्टबाट प्रवेश गरेको खुलेको छ। बेपत्ता हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्।

उनीहरूसँगै जंगल गएका अन्य तीन जनाले परिवारसँग सम्पर्क गरेपछि प्रहरीले उनीहरूको सकुशल उद्धार गरेको जनाएको छ। सम्पर्कविहीन १४ महिलाको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।