२०८३ कार्तिक १२
खाेज्नुहाेस

सुदूरपश्चिमका तीन जिल्लामा चार जनाको शव फेला

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका डोटी, अछाम र कैलालीका छुट्टाछुट्टै स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन्। घटनाबारे सम्बन्धित जिल्ला प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

डोटीको दीपायल सिलगढी नगरपालिका–३ स्थित मठ नजिक सेती नदीमा शनिबार करिब ५० वर्षीया एक महिलाको शव फेला परेको हो। मृतकको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी, अछामको कमलबजार नगरपालिका–६ स्याउले बजारमा कमलबजार नगरपालिका–७ का ६५ वर्षीय नन्दसिंह सुनार मृत अवस्थामा भेटिएका छन्।

कैलालीमा पनि दुई छुट्टाछुट्टै घटनामा दुई जनाको शव फेला परेको छ। कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् भने घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही क्षेत्रको नालामा मृत अवस्थामा फेला परेका छन्।

चारै घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।