काठमाडौं- देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेषगरी सुदूरपश्चिमसहित केही प्रदेशमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको छ। यसको प्रभावले देशभर अधिकांश स्थानमा बदली भएको छ।
आज दिउँसो हिमाली, पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने र एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद्हरूले अति भारी वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।












