२०८३ कार्तिक १२
खाेज्नुहाेस

नदी कटान र बेरोजगारीले तातापानी गाउँ सुनसान बन्दै

Image

डडेल्धुरा – सडक, पुल, विद्युत्, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीजस्ता आधारभूत पूर्वाधार पुगे पनि डडेल्धुराको परशुराम नगरपालिका–६ स्थित तातापानी गाउँ भने दिनप्रतिदिन रित्तिँदै गएको छ। महाकाली नदी र साँदनीखोलाको कटान तथा रोजगारीको अभावका कारण स्थानीय बासिन्दा गाउँ छाड्न बाध्य भएका हुन्।

स्थानीयका अनुसार बर्सेनि हुने नदी कटानले उर्वर खेतीयोग्य जमिन बगाउँदै लगेपछि कृषि उत्पादन घटेको छ। त्यससँगै रोजगारका अवसर नहुँदा अधिकांश युवा भारततर्फ पलायन भएका छन्।

८६ वर्षीय महादेव नाथले २०२७ सालमा बैतडीबाट तातापानी बसाइँ सरेको स्मरण गर्दै आफूहरूले जंगल फाँडेर बनाएको खेतीयोग्य जमिन अहिले अधिकांश महाकाली नदीले बगाइसकेको बताए। उनका अनुसार २०७१ सालको बाढीले ११ रोपनी मकैबारी, घर र अन्नपातसमेत बगाएको थियो।

स्थानीयका अनुसार पहिले सडक नहुँदा चुरे पार गरेर कञ्चनपुरको ब्रह्मदेव र भारतको वनबासा तथा टनकपुरसम्म पुगेर दैनिक उपभोग्य सामग्री ल्याउने र कृषि उपज बिक्री गर्ने गरिन्थ्यो। अहिले महाकाली करिडोरअन्तर्गत सडक कालोपत्रे भएको, साँदनीखोलामा पक्की पुल, विद्युत्, खानेपानी, सिँचाइ, स्वास्थ्य चौकी तथा कक्षा १२ सम्मको विद्यालय सञ्चालनमा आए पनि गाउँमा बस्ने जनसंख्या भने घट्दै गएको छ।

स्थानीय रमेश पनेरूका अनुसार पूर्वाधार विकास भए पनि महाकाली नदी र साँदनीखोलामा दीर्घकालीन तटबन्ध निर्माण नहुँदा बस्ती र खेतीयोग्य जमिन अझै उच्च जोखिममा छन्। कुणा, तातापानी र चन्दनीगाउँका अधिकांश युवा रोजगारीका लागि भारतको बेङ्लुरुतर्फ गएकाले गाउँमा अहिले वृद्धवृद्धा र बालबालिका मात्रै बढी देखिन्छन्।

स्थानीयले महाकाली नदी र साँदनीखोलामा वैज्ञानिक तथा दिगो तटबन्ध निर्माण गरी बस्ती र खेतीयोग्य जमिन जोगाउन सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार नदी नियन्त्रणको स्थायी समाधान नहुँदासम्म पूर्वाधार विकासको उपलब्धि दीर्घकालीन हुन सक्दैन।