२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

उपचारपछि घर फर्किइन् डडेल्धुराकी बन्दना, निसर्ग अस्पतालद्वारा ३१ लाख ७० हजार शुल्क मिनाहा

विज्ञापन
Image
विज्ञापन

धनगढी – करिब दुई वर्षदेखि धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचाररत रहेकी डडेल्धुराकी बन्दना लिम्बु स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि घर फर्किएकी छन्। अस्पतालले उपचार अवधिमा बाँकी रहेको ३१ लाख ७० हजार रुपैयाँ उपचार खर्च पूर्ण रूपमा मिनाहा गर्दै बिहीबार उनलाई डिस्चार्ज गरेको हो।

अस्पतालका अनुसार २०८१ साल साउन ३१ गते घर नजिकै साइकल सिक्ने क्रममा लडेर बन्दना गम्भीर घाइते भएकी थिइन्। प्रारम्भिक उपचारपछि थप विशेषज्ञ उपचारका लागि उनलाई निसर्ग अस्पतालमा भर्ना गरिएको थियो।

न्युरो सर्जन डा. सन्देश दाहालका अनुसार अस्पताल भर्ना भएको भोलिपल्ट पहिलो शल्यक्रिया गरिएको थियो। त्यसपछि बिरामीको स्वास्थ्य अवस्थाअनुसार हालसम्म दुईवटा मेजर र सातवटा माइनर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। उपचार अवधिभर विशेषज्ञ चिकित्सकको निगरानी, सघन नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा निरन्तर उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष तीर्थराज पन्तले १ वर्ष ११ महिना १ दिनसम्म उपचारपछि बन्दनाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकाले घर पठाइएको जानकारी दिए। उनका अनुसार लामो उपचारका कारण परिवारमाथि परेको आर्थिक भारलाई ध्यानमा राख्दै अस्पतालले बाँकी रहेको ३१ लाख ७० हजार रुपैयाँ उपचार शुल्क पूर्ण रूपमा मिनाहा गरेको हो। उनले यसलाई अस्पतालको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको रूपमा लिएको बताए।

घर फर्किएपछि दैनिक आवतजावत सहज होस् भन्ने उद्देश्यले अस्पतालले बन्दनालाई एक थान आरामदायी ह्विलचेयर पनि सहयोगस्वरूप प्रदान गरेको छ।

अस्पतालले उपचार प्रक्रियामा सहयोग गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता, सञ्चारकर्मी तथा बिरामीका परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, विशेषज्ञ र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

बन्दनाको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सामाजिक अभियन्ता भरतविक्रम शाहको पहलमा सामाजिक सञ्जालमार्फत करिब ६ लाख रुपैयाँ सहयोग संकलन भएको थियो। उक्त रकम खाना, औषधि तथा उपचारसँग सम्बन्धित अन्य खर्चमा उपयोग गरिएको परिवारले जनाएको छ। बन्दनाका बुबा–आमाले अस्पतालले उपलब्ध गराएको उपचार सेवा र सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन