बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई कार्यालय प्रवेश गरेको एक घण्टाभित्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ। सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ सुरु गर्न लागेको हो।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार आवश्यक प्रक्रिया र कागजात पूरा गरेका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराइनेछ।
यस योजनाको औपचारिक घोषणा साउन १ गते दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय परिसरमा गरिनेछ। कार्यक्रममा सरोकारवाला निकाय तथा सर्वसाधारणलाई समेत सहभागी हुन आग्रह गरिएको छ।
सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउन कार्यालयले क्यूआर कोडमा आधारित डिजिटल नागरिक वडापत्र पनि सञ्चालनमा ल्याएको छ। सेवाग्राहीले मोबाइलबाट क्यूआर कोड स्क्यान गरी उपलब्ध सेवा, आवश्यक कागजात र सेवा प्राप्त गर्ने प्रक्रियाबारे सहज रूपमा जानकारी लिन सक्नेछन्।
प्रमुख जिल्ला अधिकारी भट्टराईले यस व्यवस्थाले सेवाबारे जानकारी लिन लाग्ने झन्झट कम हुनुका साथै सेवा प्राप्त गर्ने समयसमेत घट्ने विश्वास व्यक्त गर्नुभयो।












