बाजुरा – जथाभाबी ढंगले निर्माण गरिएका ग्रामीण सडकका कारण बाजुराका अधिकांश गाउँबस्ती पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय सरकारहरूले दुर्गम बस्तीमा सडक पहुँच विस्तार गरे पनि उचित योजना र व्यवस्थापनको अभावले सडक नै स्थानीयका लागि समस्या बनेको हो।
त्रिवेणी, बुढीगंगा, खप्तड छेडेदह र बडीमालिका लगायतका स्थानीय तहमा निर्माण गरिएका धेरै ग्रामीण सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन्। सडकको नियमित मर्मत र व्यवस्थापन नहुँदा वर्षायाममा आवागमन कठिन हुनुका साथै आसपासका बस्ती पहिरोको जोखिममा परेका छन्।
त्रिवेणी नगरपालिका–९ बाँगापाटाका स्थानीय राजु मिजारले सडक निर्माणपछि आफ्नो घर पहिरोको जोखिममा परेको बताए। उनका अनुसार हिउँददेखि नै जमिन चर्किन थालेको थियो भने वर्षायाममा पहिरोको खतरा झन् बढेकाले घरमै बस्न कठिन भएको छ।
स्थानीयवासीले योजना र प्राविधिक मापदण्डविनै सडक निर्माण गर्दा विकासको अनुभूति नभई बस्ती नै विस्थापित हुने चिन्ता बढेको बताएका छन्। २०७५ सालयता निर्माण भएका अधिकांश कच्ची सडक अझै कालोपत्रे हुन सकेका छैनन्।
स्थानीय तहहरूले कच्ची सडक निर्माणका लागि बजेट भए पनि कालोपत्रेका लागि पर्याप्त स्रोत अभाव रहेको बताएका छन्। सडक स्तरोन्नति र व्यवस्थापनमा ढिलाइ हुँदा वर्षेनी स्थानीयले सास्ती भोग्नुपरेको छ।












