डडेल्धुरा- डडेल्धुरामा तीन जना युवाले जिल्लामै पहिलोपटक व्यावसायिक कफी खेती सुरु गर्दै बाँझो जमिनलाई उत्पादनमा रूपान्तरण गरेका छन्। भागेश्वर गाउँपालिका–४ गोलाईगाउँस्थित भिरालो जमिनमा दुई हजार अरबी जातका कफीका बिरुवा रोपेर उनीहरूले जिल्लाको कृषि क्षेत्रमा नयाँ सुरुवात गरेका हुन्।
दीक्षित भण्डारी, नितिन चटौत र निश्चल चटौतको पहलमा सुरु गरिएको यो परियोजनाका लागि सान एग्रो इस्टेटले दुई हजार कफीका बिरुवा उपलब्ध गराएको छ। युवाहरूले वैदेशिक रोजगारीभन्दा आफ्नै गाउँ र माटोमा सम्भावना खोज्ने उद्देश्यसहित कफी खेती रोजेको परिवारका सदस्यहरूले बताएका छन्।
हालसम्म करिब १५ लाख रुपैयाँ लगानी भइसकेको यस परियोजनामा कफीसँगै ५० वटा आँप, २५ वटा लिची र ३० वटा कागतीका बिरुवा पनि रोपिएका छन्। कफीका बिरुवाका लागि आवश्यक छहारीको व्यवस्था गरिनुका साथै २० क्विन्टल गँड्यौला मल प्रयोग गरिएको छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरूका अनुसार समुद्री सतहबाट एक हजारदेखि १६ सय मिटर उचाइसम्मको क्षेत्र अरबी कफी उत्पादनका लागि उपयुक्त मानिन्छ। डडेलधुराका अधिकांश भूभाग यही उचाइमा पर्ने भएकाले यहाँको हावापानी र माटो कफी खेतीका लागि अनुकूल रहेको उनले बताए।
कफी खेतीबाट तत्काल आम्दानी नआए पनि करिब तीन वर्षपछि उत्पादन सुरु हुने र एउटै बिरुवाले झन्डै २५ वर्षसम्म नियमित उत्पादन दिने भएकाले यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा हेरिएको छ।
परियोजनालाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र डडेल्धुराले कफीका बिरुवा खरिदमा ५० प्रतिशत अर्थात् एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। साथै पाइप, मल तथा खाडल खन्ने मेसिन खरिदमा पनि सहयोग गरिएको छ। कृषि विकास निर्देशनालयले पनि बिरुवा खरिदका लागि ९५ हजार ५ सय रुपैयाँ सहयोग गरेको कार्यालयले जनाएको छ।
सरकारी अनुदानले प्रारम्भिक लगानीको जोखिम कम गर्न मद्दत पुगेको भन्दै किसानहरूले कफी खेतीलाई डडेल्धुराको दीर्घकालीन सम्भावनायुक्त नगदे बालीका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन्।












