२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, मुख्य राजमार्गहरू अवरुद्ध

विज्ञापन
Image
विज्ञापन

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडक सञ्जाल प्रभावित भएका छन्। सडक विभाग र नेपाल प्रहरीका अनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।

सबैभन्दा बढी प्रभाव बागमती प्रदेशमा परेको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग, काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। यद्यपि, सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा सडक भासिएर बन्द भएको सडक भने मर्मतपछि पुनः सञ्चालनमा आएको छ।

कोशी प्रदेशमा पनि वर्षाले यातायात प्रभावित बनेको छ। इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्रमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। तिल्केनी–सिमलगोला सडकको जोगमाई तथा इलाम–बेलासी सडकखण्डको पुवाखोला डाइभर्सन बाढीले बगाएपछि यातायात ठप्प भएको हो। भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत बोखिम क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशको कास्कीस्थित पोखरा–ताउतिङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडकमा पनि यातायात अवरुद्ध भएको छ भने पाल्पाको सिद्धार्थ राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षाको जोखिम अझै कायम रहेकाले यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।

अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण मर्मत तथा पुनः सञ्चालनको काममा कठिनाइ भइरहेको सम्बन्धित निकायले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन