डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीस्थित डोट्याल खोलामा रहेको तालमा डुबेर एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय नरेन्द्र सिंह चुनाराकी अन्दाजी १२/१३ वर्षीया छोरी वर्षा चुनारा रहेकी छन्।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर माछा मार्ने क्रममा वर्षा तालमा डुबेर बेपत्ता भएकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ सादनीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) बाट सशस्त्र प्रहरी नायब निरीक्षक शेरबहादुर बमको नेतृत्वमा सात सदस्यीय उद्धार टोली घटनास्थल पुगेको थियो।
साँझ ७ः२० बजेदेखि खोजी सुरु गरिएकोमा करिब १५ मिनेटपछि, ७ः३५ बजे तालको करिब १५ देखि १६ फिट गहिराइबाट वर्षाको शव फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












