कैलाली- सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त निर्णय गरेपछि सुदूरपश्चिममा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार हुने अपेक्षा गरिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गेटा अस्पताल अब शिक्षण अस्पतालका रूपमा सञ्चालन हुनेछ। अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्नुका साथै चिकित्सा शिक्षा अध्ययन, प्रशिक्षण र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि आवश्यक संरचना तथा प्रणाली विकास गरिनेछ।
लामो समयदेखि शिक्षण अस्पतालका रूपमा सञ्चालनको प्रतीक्षामा रहेको गेटा अस्पताल अब शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग आबद्ध भएर सेवा प्रवाह गर्ने बाटो खुलेको छ।
यस निर्णयले सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर विस्तार हुनुका साथै स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ। स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका लागि यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।












