२०८३ कार्तिक १३
खाेज्नुहाेस

नदी उत्खननले सोनाहा समुदायको पुर्ख्यौली सुन खोज्ने पेसा संकटमा

Image

कैलाली – कर्णाली नदीमा बढ्दो उत्खननका कारण बर्दियाको राजापुर क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख सोनाहा समुदायको परम्परागत सुन खोज्ने पेसा संकटमा परेको छ। पुस्तौंदेखि नदीमा सुन खोज्दै र माछा मार्दै जीवन निर्वाह गर्दै आएका सोनाहाहरू अहिले जीविकोपार्जनका लागि ज्यालादारी गर्न बाध्य भएका छन्।

प्रेमनगरकी आशा सोनाहाले नदीको अत्यधिक उत्खननका कारण पहिलेजस्तो सुन भेटिन छाडेको बताइन्। उनका अनुसार पुर्खादेखि गर्दै आएको पेसा नै लोप हुने चिन्ताले समुदायलाई सताउन थालेको छ।

कैलाली, कञ्चनपुर र बर्दियामा बसोबास गर्ने सोनाहा समुदायको मुख्य आयस्रोत कर्णाली नदीमा भेटिने सुन र माछा हो। तर नदीको प्राकृतिक स्वरूप परिवर्तन हुँदै जाँदा उनीहरूको जीवनयापन नै प्रभावित भएको छ।

सुनिता सोनाहाका अनुसार पहिले नदीमा सुन खोजेर ज्यालादारीभन्दा राम्रो आम्दानी हुने गरेको थियो। प्रेमनगरमा अहिले पनि करिब १० परिवार यही पेसामा आबद्ध भए पनि नदी उत्खनन बढेपछि नयाँ पुस्ताले यो पेसा छाड्न थालेको छ।

सङ्गीता सोनाहाले विगतमा एउटा समूहले दिनमै २० लालसम्म सुन भेटाउने गरेको सम्झिँदै अहिले भने नदीमा सुन भेटाउन अत्यन्त कठिन भएको बताइन्। स्थानीयका अनुसार अनियन्त्रित नदी उत्खननले परम्परागत पेसासँगै सोनाहा समुदायको पहिचानसमेत जोखिममा परेको छ।