२०८३ कार्तिक १३
खाेज्नुहाेस

पैसाको लोभमा धनगढीमा १० वर्षीय तनुजको हत्या, लुटिएको सुन घरबाट बरामद

Image

धनगढी- कैलालीको धनगढीमा १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणमा पक्राउ परेका अभियुक्त खेमराज कठायतको घरबाट मृतकको कानमा लगाएको सुनको मुन्द्रा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असार १२ गते धनगढी–१७ स्थित कालिका सामुदायिक वनमा मृत फेला परेका तनुजको कानमा रहेको करिब एक आना बराबरको सुनको मुन्द्रा अभियुक्त गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खेमराज कठायतको घरबाट मंगलबार बरामद गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लागुऔषध दुव्र्यसनी रहेका कठायतले पैसाको लोभमा बालकको हत्या गरी उनको कानमा रहेको सुनको मुन्द्रा लुटेका थिए। उनले प्रारम्भिक बयानमा पनि सुन लुटेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा हत्या गरेपछि कठायतले मुन्द्रा आफ्नो पाइन्टको खल्तीमा लुकाएको र पछि घरमा राखेको खुलेको प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

तनुज असार १० गतेदेखि घरबाट बेपत्ता भएका थिए। खोजीका क्रममा दुई दिनपछि घर नजिकैको कालिका सामुदायिक वनमा उनको शव फेला परेको थियो। प्रहरीले कठायतलाई सोमबार साँझ धनगढी–२ भन्सार रोड क्षेत्रबाट भारततर्फ भाग्ने तयारीमा रहेका बेला पक्राउ गरेको थियो।