धनगढी– निर्मला पन्त हत्या प्रकरणमा पटक–पटक नाम जोडिँदै आएकी आँचल बमले सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै आफू र आफ्नो परिवार निर्दोष रहेको दाबी पुनः दोहोर्याएकी छन्। उनले यसलाई आफ्नो अन्तिम सार्वजनिक प्रतिक्रिया भएको उल्लेख गर्दै अब यस विषयमा थप नबोल्ने बताएकी छन्।

आँचलका अनुसार निर्मलाको घटना २०७५ साउन १० गते भएको थियो भने विवादित अम्बाको रुख त्यसको केही दिनपछि, साउन १६ वा १७ गते मात्रै काटिएको हो। रुख काट्नुको उद्देश्य प्रमाण नष्ट गर्नु नभई घरमा हुने भीडभाड, चोरीको जोखिम र बालबालिकाको सुरक्षालाई ध्यानमा राख्नु रहेको उनको दाबी छ। प्रहरीले दबाब दिएर रुख काट्न लगाएको आरोपलाई उनले असत्य भनेकी छन्।
उनले घरको भित्तामा रंग लगाएर प्रमाण मेटाइएको भनाइ पनि अस्वीकार गरेकी छन्। घटनापछि एक–दुई वर्षसम्म घरमा कुनै रंगरोगन नगरिएको र त्यसबेला पत्रकार रहेका रवि लामिछानेले समेत सो अवस्था प्रत्यक्ष देखेको दाबी उनले गरेकी छन्।
आँचलले आफूहरूलाई कुनै प्रभावशाली व्यक्ति वा राजनीतिक संरक्षण प्राप्त भएको भन्ने आरोपलाई पनि मनगढन्ते भएको बताएकी छन्। प्रहरीबाट आफ्नो परिवारका सबै कल डिटेल जाँच भइसकेको र त्यसबाट आफूहरू निर्दोष रहेको पुष्टि भएको उनको दाबी छ। साथै, आफ्नी दिदीसँग जोडिएका विभिन्न अफवाहहरू पनि असत्य रहेको उल्लेख गरेकी छन्।
घटनाका बेला आफू १४ वर्षकी नाबालिग रहेको स्मरण गराउँदै उनले मानव अधिकारकर्मी र केही सञ्चारमाध्यमबाट चरित्रहत्या गरिएको आरोप लगाएकी छन्। हिरासतमा रहँदा अपमानजनक व्यवहार भोग्नुपरेको पनि उनको भनाइ छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वा कुनै सरकारको संरक्षणका कारण आफू छुटेको भन्ने आरोप अस्वीकार गर्दै उनले कानुनी प्रक्रियाबाट निर्दोष सावित भएको दाबी गरेकी छन्। साथै, सामाजिक सञ्जालमा झूटा सूचना र अफवाह फैलाउने व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
निर्मला पन्त हत्या प्रकरण अझै पनि देशकै सबैभन्दा संवेदनशील र चर्चित घटनामध्ये एक मानिन्छ। घटनामा न्यायको माग निरन्तर उठिरहे पनि विभिन्न दाबी, आरोप र प्रत्यारोप भने जारी छन्।












