धनगढी– आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा बजेट खर्च उल्लेखनीय रूपमा बढेको छ। ‘असारे विकास’को प्रवृत्तिअनुसार जेठसम्म सुस्त रहेको खर्च असार लागेपछि तीव्र गतिमा बढ्न थालेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म प्रदेशको कुल बजेट खर्च ३५.२० प्रतिशत रहेको थियो। तर असार १९ गतेसम्म खर्च बढेर ४४.८१ प्रतिशत पुगेको छ। असारको १९ दिनमै मात्रै तीन अर्ब २० करोड ७२ लाख रुपैयाँ बजेट निकासा गरिएको कार्यालयले जनाएको छ।
जेठ मसान्तसम्म पुँजीगततर्फ पाँच अर्ब ५५ करोड ५० लाख रुपैयाँ (२८ प्रतिशत) र चालुतर्फ ६ अर्ब २२ करोड ११ लाख रुपैयाँ (४५.७२ प्रतिशत) गरी कुल ११ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ खर्च भएको थियो। असार १९ सम्म आइपुग्दा कुल खर्च १४ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीका अनुसार असार २० देखि २५ गतेसम्म बजेट निकासाको दर अझ तीव्र हुने गर्छ। उनका अनुसार यस अवधिमा विशेषगरी पुँजीगत बजेट खर्च उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।
असार १९ गतेसम्म पुँजीगततर्फ सात अर्ब ४६ करोड ८९ लाख रुपैयाँ (३७.६७ प्रतिशत) र चालुतर्फ सात अर्ब ५१ करोड ४३ लाख रुपैयाँ (५५.२६ प्रतिशत) खर्च भइसकेको कार्यालयले जनाएको छ।












