काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा एक युवतीलाई सार्वजनिक स्थानमा गोप्य अङ्ग देखाएर अश्लील व्यवहार गरेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत सुरेन्द्र भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्ने व्यक्ति बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट हुन्। उनी हाल इमाडोलमै बसोबास गर्दै आएका थिए र सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ।
घटना आइतबार साँझ करिब साढे ६ बजेतिर भएको बताइएको छ। प्रहरीका अनुसार गल्लीबाट एक्लै हिँडिरहेकी युवतीलाई देखेपछि भट्टले आफ्नो कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेका थिए।
घटनापछि पीडित युवतीले साहसका साथ आफ्नो मोबाइल फोनबाट आरोपीको भिडियो खिचेकी थिइन्। उनले आरोपीलाई पछ्याउँदै पक्राउ गरिदिन आग्रह गरेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएपछि घटना व्यापक चर्चामा आएको थियो।
भिडियोमा एक जना स्थानीयले आरोपीलाई नियन्त्रणमा लिएको, पीडित युवतीले उनलाई खुट्टा ढोग्न लगाएको तथा आरोपीले ‘सरी’ भन्दै माफी मागेको दृश्यसमेत देखिन्छ।
पीडितले दिएको उजुरीका आधारमा प्रहरी प्रभाग इमाडोलले सुरेन्द्र भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। प्रहरीले घटनासँग सम्बन्धित सिसिटिभी फुटेजसमेत सङ्कलन गरिसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।












