अत्तरिया- कैलालीको अत्तरियामा लागू पदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका पाँच जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आइतबार अत्तरिया क्षेत्रमा सञ्चालन गरेको विशेष चेकजाँचका क्रममा ३२ जना सवारी चालकको लागू पदार्थ (लापसे) परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पाँच जना चालकले लागू पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशम आचार्यका अनुसार पक्राउ पर्नेमा ना ५ ख ३०० नम्बरको बसका चालक धनगढी उपमहानगरपालिका–७ पटेलाका रामकृष्ण चौधरी, सुपप्र ०१–००१ ज ००३५ नम्बरको ईभी चालक बझाङको छविसपाथिभेरा गाउँपालिका–३ निवासी सुरेश बोहरा, सुपप्र ०१–००१ च ३६३१ नम्बरको बोलेरो जिप चालक धनगढीका पहिलाद राना, सुपप्र ०२–००१ ख १२८७ नम्बरको बस चालक कञ्चनपुरका महेशबहादुर चन्द तथा सुपप्र ०२–००१ ख ११७९ नम्बरको बस चालक बैतडीको दोगडाकेदार गाउँपालिकाका धिरेन्द्र कार्की रहेका छन्।
प्रहरीले उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाएको जनाएको छ।












