डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिकाले विद्यालयमा बालबालिकाको सिकाइ प्रभावकारी बनाउन अभिभावकलाई समेत कक्षाकोठामा सहभागी गराउने नयाँ अभ्यास सुरु गरेको छ। शैक्षिक उपलब्धि सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको भूमिका समान रूपमा महत्वपूर्ण हुने निष्कर्षसहित गाउँपालिकाले सातवटै माध्यमिक विद्यालयमा मनोसामाजिक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हो।

गाउँपालिकाका अनुसार गत शैक्षिक वर्ष अतिरिक्त कक्षा र शैक्षिक भेलाजस्ता कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षाअनुसार सिकाइ उपलब्धिमा सुधार हुन सकेन। त्यसपछि यस वर्ष पाठ्यपुस्तकमा मात्र केन्द्रित नभई बालबालिकाको मानसिक अवस्था, अभिभावकको जिम्मेवारी र शिक्षकको शिक्षण शैलीलाई एकसाथ सुधार गर्ने लक्ष्यका साथ ‘स्वस्थ मस्तिष्क, सबल विद्यार्थी’ अभियान सुरु गरिएको हो।
कार्यक्रम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सञ्चालन गरिरहेको छ। सातवटै माध्यमिक विद्यालयका करिब १ हजार १०० विद्यार्थी, शिक्षक र अभिभावक यस अभियानमा सहभागी छन्। गाउँपालिकाका अनुसार यस अभियानको उद्देश्य परीक्षा केन्द्रित शिक्षा मात्र नभई विद्यालय, परिवार र समुदायबीचको सम्बन्धलाई मजबुत बनाउँदै बालबालिकाको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्याउनु हो।
विद्यार्थीका लागि सञ्चालन गरिएका सत्रमा आत्मविश्वास वृद्धि, लक्ष्य निर्धारण, अध्ययनप्रतिको रुचि विकास, समय व्यवस्थापन, तनाव नियन्त्रण, सकारात्मक सोच, भविष्यको करियर छनोट तथा परीक्षाको तयारीबारे प्रशिक्षण दिइएको छ। साथै, पढाइमा कमजोर भएका विद्यार्थीलाई असफलताबाट निराश नहुन, त्यसलाई सिकाइको अवसरका रूपमा लिन र आफ्नै क्षमतामा विश्वास गर्न प्रेरित गरिएको छ।
अभिभावकलाई भने बालबालिकाको मनोविज्ञान बुझ्ने, नियमित संवाद गर्ने, घरमा अध्ययनको वातावरण तयार गर्ने, माया, सम्मान र हौसला प्रदान गर्ने तथा डर, गाली र दण्डभन्दा सकारात्मक व्यवहार प्रभावकारी हुने विषयमा प्रशिक्षण दिइएको छ। कार्यक्रममार्फत बालबालिकाको शिक्षामा परिवारको भूमिका विद्यालयसरह महत्वपूर्ण हुने सन्देश प्रवाह गरिएको छ।
स्थानीय कलापति बोहोराले तालिमपछि अभिभावकको भूमिकाबारे आफ्नो सोचमा परिवर्तन आएको बताइन्। उनका अनुसार पहिले पढाइ विद्यालयको मात्र जिम्मेवारी भन्ने लाग्थ्यो, तर अहिले घरको वातावरण, अभिभावकको व्यवहार र बालबालिकासँग बिताइने समयले पनि उनीहरूको शैक्षिक प्रगतिमा ठूलो प्रभाव पार्ने कुरा बुझेको बताइन्।
सहभागी इन्द्रादेवी बिष्टले बालबालिकालाई माया, सम्मान र संवाद नै गुणस्तरीय शिक्षाको आधार भएको अनुभव सुनाइन्। नवदुर्गा–४ की डिग्रादेवी बिष्टले पनि तालिमपछि बालबालिकाको भावना बुझ्ने, उनीहरूसँग बढी समय बिताउने र प्रोत्साहन दिने बानी विकास भएको बताइन्।
शिक्षकहरूलाई भने विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, विद्यार्थीको मनोवैज्ञानिक अवस्था बुझेर अध्यापन गर्ने, कक्षाकोठामा सक्रिय सहभागिता बढाउने तथा कमजोर सिकाइ भएका विद्यार्थीलाई व्यक्तिगत परामर्श र अभिभावकसँग समन्वय गरेर सहयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले शैक्षिक सुधार कुनै एक पक्षको प्रयासबाट सम्भव नहुने बताए। उनका अनुसार शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्ष जिम्मेवार बने मात्र विद्यालयको नतिजा सुधार गर्न सकिन्छ। बालबालिका नियमित विद्यालय गए–नगएको, पढाइमा रुचि देखाए–नदेखाएको र अनुशासन पालना गरे–नगरेको विषयमा अभिभावकले पनि निरन्तर चासो दिनुपर्ने उनले बताए।
अध्यक्ष अवस्थीले ग्रामीण क्षेत्रमा धेरै अभिभावक रोजगारी, खेतीपाती र दैनिक जीविकोपार्जनमा व्यस्त हुँदा बालबालिकाको पढाइमा पर्याप्त समय दिन नसकिरहेको उल्लेख गरे। कतिपय विद्यार्थी पारिवारिक समस्या, आत्मविश्वासको कमी, सामाजिक दबाब र भविष्यप्रतिको अन्योलका कारण पनि पढाइमा पछि पर्ने गरेको भन्दै यस्ता चुनौती समाधान गर्न मनोसामाजिक शिक्षालाई शैक्षिक सुधारको महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको बताए।
गाउँपालिकाले आगामी वर्षहरूमा पनि सिकाइ उपलब्धिको नियमित मूल्याङ्कन गर्दै मनोसामाजिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












